नेपाली सेनाबारे संसद्मा उठेका प्रश्नलाई कसरी हेर्नुभएको छ ?
नेपाल। देशमा द्वन्द्व अन्त्य भएर शान्ति स्थापना भइसकेपछि नेपाली सेनालाई कसरी थप व्यावसायिक तथा दक्ष बनाउने भन्ने विषयमा जुन बहस हुनुपथ्र्यो, त्यो सुरु नै भएन । सेनाले राष्ट्रसंघीय मिसनमा रहेर शान्ति स्थापना गर्ने कार्यमा जुन योगदान पुर्याउँदै आएको छ, त्यसले सगरमाथापछि देशलाई विश्वसामु चिनाउने काम गर्दै आएको छ । सेना विकास निर्माणमा लाग्यो भन्नुभन्दा पनि प्रत्येकजसो दलले सत्तामा पुगेपछि सेनालाई ठेक्कापट्टाको जिम्मेवारी दिँदै आएका छन् । राज्यले नै आवश्यक ठानेको हो भने यसरी फाट्टफुट्ट बोलेर छिपछिपे बहस गरेर हुँदैन, गम्भीर बहस जरुरी छ ।
नेपाली सेना गैरसैनिक क्रियाकलापमा किन संलग्न भएको होला ?
राज्यले राजनीतिक नेतृत्वमा रहने रक्षा मन्त्रालयमार्फत दिएको जिम्मेवारीलाई नेपाली सेनाले चुनौती दिन सक्दैन र मिल्दैन पनि । विस्फोटक पदार्थ ल्याउने, निर्माण क्षेत्रमा आवश्यकताअनुसार प्रयोग गर्ने यो प्रयोगमा सहजीकरण गर्ने जिम्मेवारी नेपाली सेनाकै हो । त्यसैले, सेनाले नै राज्यसित आफूलाई ठेक्कापट्टा चाहियो भनेर मागेको हो भने यसले सेनाको चरित्रमा दाग लगाउँछ, ह्रास ल्याउँछ । राजनीतिक नेतृत्वले नै दिएको हो भने यसरी हचुवामा बहस गरेर हुँदैन ।
नेपाली सेनालाई थप व्यावसायिक र विवादमुक्त बनाउन के गर्नुपर्ला ?
यसका लागि रक्षा मन्त्रालयमा नेपाली सेनाको एउटा युनिट हुनुपर्छ । यसले मन्त्रालय र सेनाबीच समन्वय गर्नेदेखि सेनाको व्यावसायिकताबारे नीति निर्माणमा सघाउनुपर्छ । विश्वमा शान्ति स्थापनामा नेपाली सेनाले हाल खेलिरहेको भूमिकालाई निरन्तरता दिँदै माथिल्लो तहको नेतृत्वका लागि पहल गर्नुपर्छ । सेनालाई अत्याधुनिक हतियार र प्रविधिबाट सुसज्जित गराउनुपर्छ ।